काठमाडाैँ - आईपिएलको पुछारको टिम मुम्बई इन्डियन्सले शीर्ष स्थानको गुजरात टाइटन्सलाई हराएको छ। शुक्रबार राति भएको खेलमा मुम्बईले गुजरातमाथि ५ रनको रोमाञ्चक जित निकालेको हो।
१७८ रनको लक्ष्य पछ्याएको गुजरातलाई अन्तिम ओभरमा जितका लागि ९ रन चाहिएको थियो। तर, मुम्बईमा ड्यानियल साम्सले उत्कृष्ट बलिङ गर्दै टिमलाई ५ रनको जित दिलाएका हुन्। प्रतियोगितामा मुम्बईको यो लगातार दोस्रो जित हो भने गुजरातको लगातार दोस्रो हार हो। १६ अंकसहित गुजरात शीर्ष स्थानमा रहँदा ४ अंक जोडेको मुम्बई पुछारमा छ।
१७८को लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरमा ५ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। गुजराजतले मुम्बईविरुद्ध प्रतियोगिताकै उत्कृष्ट सुरुआत गरेको थियो । तर, फिनिसङमा चुक्दा पराजित भएकाे हाे। रिद्धिमन साह र सुभमन गिलले पहिलो विकेटका लागि १०६ रनको शतकीय साझेदारी गरेका थिए। दुवै अर्धशतक प्रहार गरेका थिए।
गुजरातका लागि साहले ५५ रन बनाउँदा गिलले ५२ रन बनाए। साहाले ४० बलमा ६ चौका र २ छक्का प्रहार गरे भने गिलले ३८ बलमा ६ चौका र २ छक्का नै प्रहार गरे। कप्तान हार्दिक पाण्ड्या २४ तथा साई सुदर्शन १४ रनमा बनाउँदा डेभिड मिलर १९ रनमा नटआउट रहे।
मुम्बईका मुरुगन आश्विनले २ तथा किरेन पोलार्डले १ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १७७ रन जोडेको थियो। मुम्बईका लागि इशान किसनले २९ बलमा ५ चौका र १ छक्काप्रहार गर्दै ४५ रन बनाए।
यस्तै, टिम डाभिड २१ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ४४ रन बनाउँदा रहदा कप्तान रोहित शर्माले ४३ रन बनाए। गुजरातका राशिद खानले २ विकेट लिए।