काठमाडौँ - बलिउड अभिनेता आमिर खानले कोरोना महामारीको समयमा आफूले अभिनय छाड्ने निर्णय गरेको खुलासा गरेका छन्। तर, उनले यो कुरा त्यसबेला यसकारण खुलाएनन् कि यसलाई मानिसहरुले ‘लाल सिंह चड्ढा’को रिलिजभन्दा पहिलाको ‘मार्केटिङ स्कीम’ भन्ने सक्थे। फिल्मले व्यक्तिगत जीवनमा नसोचेको असर गर्न थालेपछि अभिनय छाड्ने सोचमा पुगेको आमिर बताउँछन्।
हालसालै एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘कोरोना महामारीको समयमा मैले बलिउड छाड्ने बारेमा सोचेको थिएँ। त्यसबेला मलाई लाग्यो कि म स्वार्थी भएर आफ्नो उर्जा काममा मात्र प्रयोग गरिरहेको छु र आफ्नो परिवारलाई समय दिन पाइरहेको छैन। विशेषगरी बच्चालाई। जब म हिरो बनेँ तब मैले सोचेँ कि परिवार मेरो साथमा छ र मैले परिवारलाई हलुका रुपमा लिन सुरु गरेँ।’
आमिरले दर्शकको मन जित्न आफूले ३०/३५ वर्षदेखि एउटै रफ्तारमा काम गर्दै आएको बताएका छन्। उनले अगाडि भनेका छन्, ‘म स्वार्थी भएको थिएँ। मैले आफ्नो बारेमा मात्र सोचिरहेँ। म आफ्नो बच्चाहरुको साथमा त थिएँ तर त्यस हिसाबले थिइन्, जसरी हुनुपर्थ्यो। मलाई ५७ वर्षको उमेरमा बल्ल यो महशुस भयो। सोच्छु, ८६ वर्षको उमेरमा यो महशुस भएको भए के हुन्थ्यो होला !’
फिल्मले आफूलाई परिवारबाट टाढा पुर्याएको उनको निष्कर्ष छ। आफूले फिल्मप्रतिको प्यासनले परिवारप्रतिको जिम्मेवारी नै विर्सिएको उनी बताउँछन्। ‘आज म ५७ वर्षको छु। म फिल्मका लागि यति प्यासिनेट थिएँ कि मैले सबै जिम्मेवारी भुल्दै गएँ। म आफ्नो जिन्दगी त बाँचिरहेको थिएँ तर आफ्नैसँग टाढिँदै गएको थिएँ। अब परिवारलाई पर्याप्त समय दिनेछु,’ उनले भनेका छन्।
श्रोतः फिल्मी खबर