काठमाडौं- अभिनेत्री केकी अधिकारीले निर्माण गरेको ‘बोक्सीको घर’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ। बैशाख १४ गते रिलिज हुने सिनेमाको बिहीबार फर्स्टलुक पोस्टर रिलिज गरिएको हो।
सार्वजनिक पोस्टर पूर्णरूपमा नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ। पोस्टर सिनेमाको नामसँग मिल्ने गरी बिम्बात्मकरूपमा डिजाइन गरिएको छ।
नेपाली समाजमा बोक्सीले ‘कपाल फिजाएर रातो साडी लगाएर पूर्णिमाको दिनमा पिपलको रुखमा गएर पूजा गर्छन्’ भन्ने भनाइ रहेको छ।
पोस्टरमा कपाल फिँजाएर रातो साडी लगाएकी एक महिला अभिनेत्रीलाई ठूलो पिपलको रुखतर्फ फर्किएको देखाइएको छ। उक्त पहिला पात्रलाई पछाडिबाट देखाइएको छ, अनुहार देखाइएको छैन भने पूर्णिमाको चन्द्रमालाई डिजाइनमा समावेश गरिएको छ।
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमालाई केकी अधिकारी फिल्मस्ले निर्माण गरेको हो भने सिनेमाका निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन्। यस्तै, कार्यकारी निर्माता राज घिमिरे हुन्।
केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना उनको छ।
सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ। लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमालाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। टिफल्क फिल्मसले यो सिनेमालाई वितरण गर्नेछ।