काठमाडौँ - विश्वका धनी देशहरूको समूह जीसेभेनका नेताहरूले ‘युक्रेनलाई समर्थन आवश्यक भएसम्म साथ दिने ’ बताएका छन्। हालै रुसले युक्रेनमा गरेको मिसाइल आक्रमणपछि यी नेताहरुले यस्तो बताएका हुन्। आपतकालीन भर्चुअल बैठकमा, जीसेभेनले युक्रेनलाई सैन्य र मानवीय सहायता जारी राख्ने बताएको छ।
नाटोले पनि युक्रेनलाई आवश्यक परेसम्म साथ दिने बताएको छ। सोमबार युक्रेनको राजधानी किभमा भएको शृङ्खलाबद्ध क्षेप्यास्त्र आक्रमणमा परी १९ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन्।
यी आक्रमणहरू मंगलबार पनि जारी रह्यो त्यसैले सर्वसाधारणलाई बंकरहरू र हवाई हमलाहरूबाट बचाउन सक्ने ठाउँहरूमा बस्न सल्लाह दिइएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रुसलाई क्रिमियासँग जोड्ने महत्वपूर्ण पुलमा आगजनी गरेको युक्रेनको आक्रमणको बदला भएको बताएका छन्।
पश्चिमी देशको समूह जीसेभेनले रुसले युद्धलाई दिएको तीब्रतालाई तुरुन्त आफ्नो प्रतिक्रिया दियो र युक्रेनप्रति आफ्नो प्रतिबद्धता दोहोराए।
आफ्नो विज्ञप्तिमा जीसेभेनले भनेको छ, ‘हामी युक्रेनलाई आर्थिक, मानवीय, सैन्य, कूटनीतिक र कानुनी सहयोग जारी राख्नेछौं र आवश्यक परेसम्म युक्रेनको साथमा उभिनेछौं।’