काठमाडौँ - खालापुर टोलनाका नजिकै तीनवटा सवारीसाधन एक्कासी एकआपसमा ठोक्किँदा दुर्घटनामा परेकी बलिउड अभिनेत्री मलाइका अरोडा आजै डिस्चार्ज हुने भएकी छिन्।
उनकी बहिनी अमृता अरोडाले उनको अवस्थाको जानकारी दिँदै उनी आजै डिस्चार्ज हुने बताएकी हुन्। उनका अनुसार मलाइका एक फेसन इभेन्टबाट फर्किने क्रममा उनको दुर्घटना भएको र उनी मुम्बईको एपोलो अस्पतालमा डाक्टरको निगरानीमा रहेकी छिन्। अमृताले उनको टाउकोमा चोट लागेको तर सीटी स्कयान गर्दा केही नदेखिएका ले आज दिउँसो नै उनी अस्पतालबाट डिस्चार्ज हुने बताएकी छिन्।
भारतीय संचारमाध्यमहरुका अनुसार गुढी पाडवाको अवसरमा महाराष्ट्र नवनिर्माण सेनाका कार्यकर्ताहरूको सम्मेलनमा सहभागी हुन आएका कामदारहरुको कारण मुम्बई–पुणे एक्सप्रेसवेमा धेरै ट्राफिक थियो। यसै बिच खालापुर टोलनाका नजिकै तीनवटा सवारीसाधन एक्कासी एकआपसमा ठोक्किएको थियो। जसमध्य एउटा कार अभिनेत्री मलाइकाको रहेको थियो। मलाइकाको कारसँग स्वीफ्टकार ठोक्किँदा उनी घाइते भएकी थिइन् र मुम्बईको एपोलो अस्पतालमा उनको भर्ना गरिएको थियो।