१. तिमी के चाहान्छौ के कुरामा चित्त बुझेको छैन
केही पत्थर नकुल्चेर म पनि मन्दिर पुगेको छैन।
फेरी पनि तिमीलाई माया गर्छु भनीदिउ लाग्छ
फेरी सम्झिन्छु तिमीले दिएको ऐना हराएको छैन।
यहाँ लडेर मरेकाहरुको शालिक बनाउदै छौ
हिड्दा ख्याल गर्नु अझै यो बाटो बनेको छैन।
बाँच्नलाई घर बनाएकाहरु घरमै मरेर आउँछन्
यी हेरन मैले बनाएको घाटमा कोही मरेको छैन।
२. केही पुतली जस्ता खुसीहरु आएका छन्
आजै छिमेकमा सबैले बत्ति बालेका छन्।
आसुले सिँचाइ गरेपनि कुनै बिरुवा उम्रिने छैन
बुढा हातले कलीलो सन्तान गाढेका छन्।
तिम्रा जन्ती आउनु अघि मलाई मेरो बाटो देखाउनु
मेरा मलामीहरु कहील्यै घाट नदेखेका छन्।
तिमी दुस्मन चिन्ने चिनाउने कुरा नगर यार
मेरा आफन्तहरु सबै मैले चिनेका छन्।