शुक्रराज र चौतारा अस्पतालबीच स्याटेलाइट क्लिनिक सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु काठमाडौं र चौतारा अस्पताल, चौतारा सिन्धुपाल्चोकबीच स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

दुवै संस्थाबीच साउन ९ गतेदेखि लागू हुने गरी स्याटेलाइट क्लिनिकमार्फत विशेषज्ञ तथा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले समझदारी गरिएको हो। सम्झौताअनुसार टेकु अस्पतालले सेवा प्रदान गर्ने जनशक्तिलाई प्रचलित कानून र मापदण्डअनुसार यातायात तथा खाजा खर्चका लागि आवश्यक बजेटको व्यवस्था गर्नेछ। साथै, उक्त जनशक्ति व्यवस्थापन गर्दा नियमित सेवा प्रभावित नहुने गरी संयोजन गरिनेछ।

स्याटेलाइट क्लिनिक सञ्चालन अन्तर्गत प्रत्येक महिनाको दोस्रो र चौथो हप्ताको आइतवार बालरोग, जनरल मेडिसिन, छाला तथा यौन रोगलगायतका विशेषज्ञ सेवा प्रदान गरिनेछ।

चौतारा अस्पतालले क्लिनिक सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा वातावरण निर्माण गर्नुका साथै स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गर्दै सेवा सञ्चालनमा सहयोग पुर्‍याउनेछ।

सम्झौतामा शुक्रराज अस्पतालका निर्देशक डा. युवनिधि बसौलाले र चौतारा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रम टेकु अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. विमल चालिसे, प्रशासन प्रमुख विनय खड्का र चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरीको रोहबरमा सम्पन्न भएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×