काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)को दशौं संस्करण खेल्ने भएका छन्। सन्दीपले जमैका तलावाजबाट सीपीएल खेल्ने भएका हुन्।
सन्दीपले सीपीएल टी-२० को अघिल्लो संस्करण २०२० मा पनि जमैकाबाट खेलेका थिए। उनले २०२१ को संस्करणमा भने नेपालको ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजका कारण गुमाएका थिए।
लंका प्रिमियर लिग खेलेपछि उनी सीपीएल खेल्न जाने छन्। सीपीएलमा सन्दीप कति रकममा आवद्ध भएको भने खुलेको छैन। २०२० मा उनले एक करोडभन्दा बढी रकम पाएका थिए।
यो वर्ष जनवरीमा बिग बास लिगमा होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेका सन्दीप अन्य विदेशी लिगमा सहभागिता जनाएका छैनन्। सीपीएल ३० अगस्टदेखि ३० सेप्टेम्बरसम्म सेन्ट किट्स एण्ड नेभिसमा आयोजना हुँदैछ। त्यसअघि सन्दीपले ३१ जुलाईदेखि अगस्ट ११ सम्म लंका प्रिमियर लिग खेल्नेछन्।
सीपीएल २०२० मा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए। उनले २०१८ देखि २०२० सम्म सीपीएलको ३ संस्करणमा प्रतिनिधित्व गरिसकेका छन्।