काठमाडौँ - नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ। सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका ४ जना पदयात्रीको कथा फिल्मले पेस गरेको छ।
सुरज वर्जत्य निर्देशित फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र र यहाँको मनमोहक दृश्य समेटिएको छ। अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पा स्टारर फिल्मले मित्रताको कथा भन्छ।
फिल्ममा परिणितीले नेपाली पदप्रदर्शकको भूमिका निर्वाह गरेकी छिन्। खासमा भारतको मुम्बईदेखि नेपालको सगरमाथासम्मको यात्राको कथा हो यो फिल्म। ट्रेलर हेर्दा लाग्छ, उमेर संख्या मात्र हो। उमेर बढेपछि खुलेर जीवन बाँच्नुपर्छ र आशावादी बन्नुपर्छ भन्ने सन्देश यसले दिन्छ।
नेपालमा झण्डै १ महिना रहेर छायांकन गरिएको फिल्मले नेपालको पर्यटन विकासमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। ४ जना साथीहरु भेट भएपछि नेपाल घुम्न निस्किएको यो रोमाञ्चक कथालाई नेपाली दर्शकले पनि रुचाउने अपेक्षा गरिएको छ।
‘उचाइ’ कात्तिक २५ गते रिलिज हुँदैछ।