काठमाडौँ - रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी २०२४ सम्म स्पेनिस ला लिगाको क्लब रियल मड्रिडमै बस्ने बताएका छन्। ब्राजिलको राष्ट्रिय टिम सम्हाल्ने चर्चा भइरहेको अवस्थामा प्रशिक्षक एन्सेलोट्टीले रियालसम्मको सम्झौता समाप्त नभएसम्म आफू क्लबमै रहने बताएका छन्।
इटालियन प्रशिक्षकले एन्सेलोट्टीले अहिले आफू मड्रिडमा आफ्नो वर्तमान भूमिकामै केन्द्रित रहेको बताएका छन्। रियल अहिले ला लिगा, स्पेनिस सुपर कप र च्याम्पियन्स लिगको उपाधि रक्षा गर्न गर्नुका साथै फेब्रुअरीमा हुने क्लब विश्वकपको तयारीमा छ।
“मलाई थाहा छैन भविष्यमा के हुन्छ। म मेरो वर्तमानमा बाँचिरहेको छु,’’ एन्सेलोटीले इटालीको सञ्चारमाध्यमसँग भने, “अहिले, म मड्रिडमा खुसी छु। यो सिजन हाम्रा लागि धेरै उद्देश्यहरू छन्। मसँग जुन २०२४ सम्मको सम्झौता छ। यदि, रियलले मलाई त्यो भन्दा पहिले बर्खास्त गरेन भने म कतै जाने छैन।’’
६३ वर्षे एन्सेलोट्टीले कतार विश्वकपको फाइनलमा फ्रान्सलाई हराउँदै उपाधि जित्ने अर्जेन्टिनी टोलीका प्रशिक्षक लियोनेल स्कालोनीको प्रशंसा गरेका छन्। “स्कालोनीले असाधारण काम गरे। कुनै नयाँ आविष्कार गरेनन्, उनले खेलाडीहरूलाई एकतावद्ध राखे र उनीहरूलाई राम्रो रक्षात्मक संगठन दिए,’’ एन्सेलोट्टीले भने।
ला लिगाको बाँकी सिजन ३० डिसेम्बरबाट पुनः सुरु हुन्छ। लिगमा रियल शीर्ष क्लब बार्सिलोनाभन्दा २ अंकले पछाडि रहेको छ।