काडमाडौँ - स्पेनिस ला लिगा अन्तर्गत रियाल मड्रिडले मालोर्कालाई हराएको छ। सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली रियालले मालोर्कामाथि ४-१ गोलको पुनरागमन जित निकालेको हो।
खेलमा अग्रता भने मालोर्काले ३५ औं मिनेटमा वेदत मुरिक्वीको गोलमा बनाएको थियो। तर, घरेलु टोलीका फेडेरिको भाल्भर्डेले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
खेलको ७२ औं मिनेटमा भिनिसियस जुनियरको गोलमा रियलले अग्रता बनाएको थियो। त्यस्तै ८९ औं मिनेटमा रोड्रिगो र इन्ज्युरी समयमा एन्टोनियो रुडिगरले गोल थप्दा रियाल मड्रिडले ४-१ को सहज जित निकाल्न सफल भएको हो।
जारी सिजन शतप्रतिशत जित निकालेको रियालको यो लगातार पाँचौ जित हो। अंक तालिकामा १५ अंक जोडेर मड्रिड शीर्षस्थानमा रहेको छ। दोस्रो स्थानमा बार्सिलोना रहेको छ। ५ अंक जोडेको मालोर्का भने तालिकाको १३ औं स्थानमा रहेको छ।