बागलुङ। ज्ञान, सीप र अनुभवका खानी ज्येष्ठ नागरिकको सम्मानजनक जीवनयापनमा राज्य सहयोगी बन्नुपर्ने आवाज उठेको छ। प्रथम ज्येष्ठ नागरिक राष्ट्रिय दिवसका अवसरमा यहाँ आयोजित समारोहमा बोल्ने वक्ताले अहिले पनि ज्येष्ठ नागरिकका हकअधिकार कुण्ठित भइरहेको बताएका हुन्।
ज्येष्ठ नागरिकका पक्षमा राज्यले ल्याएका ऐन, कानून पनि प्रभावकारी नभएकामा उनीहरुको गुनासो छ। ज्येष्ठ नागरिक जिल्ला सङ्घका आजीवन सदस्य चयनकुमारी श्रेष्ठले राज्य, समाज र परिवारले ज्येष्ठ नागरिकका समस्या बुझिदिन आग्रह गरे। “देउता समान ज्येष्ठ नागरिक परिवारबाट एक्लिँदै गएका छन्, राज्यले प्रदान गर्ने सेवा, सुविधा, छुट र आरक्षण पनि सहीरुपमा कार्यान्वयन हुन सकेको छैन”, सङ्घद्वारा आयोजित समारोहमा उनले भने। श्रेष्ठले ज्येष्ठ नागरिकले अस्पतालमा समेत लाममा उभिएर सेवा लिनुपर्ने स्थिति रहेको दुःखेसो पोखे।
नेपाल सरकारका पूर्वकर्मचारी ७५ वर्षीय बुद्धिबहादुर केसीले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि मासिक भत्ता दिइए पनि त्यो प्राप्त गर्ने प्रक्रिया भने ज्येष्ठ नागरिकमैत्री नभएको बताए। “भत्ता बुझ्न लठ्ठी र अरुको सहायताले बैंक धाउनुपर्ने बाध्यता छ, ज्येष्ठ नागरिक कति त हस्ताक्षर गर्न पनि नजान्ने हुनुहुन्छ, उपयुक्त नीति र विधि बनाएर उहाँलाई घरघरै भत्ता पु¥याइदिने व्यवस्था गर्नुपर्छ”, उनले भने।
स्थानीय तहहरुले त्यसको प्रबन्धका लागि पहल लिनुपर्ने केसीको सुझाव छ। उमेर, मानसिक, शारीरिक आदि कारण बुढ्यौली अवस्था संवेदनशील हुने भएकाले ज्येष्ठ नागरिकको जीवनयापनका लागि उचिव वातावरण चाहिने उनको भनाइ छ। “जीवनको उत्तरार्धमा चाहिने भनेको आनन्द र शान्ति हो, हाम्रा ज्येष्ठ नागरिकका लागि त्यसैअनुसार वातावरण बनाइदिनुपर्छ”, केसीले भने। ज्येष्ठ नागरिकमा पनि एकल पुरुष र एकल महिलाको अवस्था झनै कष्टपूर्ण हुने गरेको उनले बताए।
बुढ्यौली उमेरमा खुसीसाथ स्वस्थ, सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउनु ज्येष्ठ नागरिकको अधिकार भएको सङ्घका उपाध्यक्ष चिरञ्जीवी श्रेष्ठले बताए। कानूनमा धेरै कुरा लेखिएको भए पनि त्यो त्यसमै सीमित भएको उनको गुनासो छ।
सरकारले २०६३ मा ज्येष्ठ नागरिक ऐन र २०६५ मा नियमावली बनाई ज्येष्ठ नागरिकका हक सुरक्षित गरेको छ। सङ्घले ऐनको व्यावहारिक कार्यान्वयनका लागि राज्यलाई रचनात्मक दबाब दिँदै आएको छ। ऐनमा ज्येष्ठ नागरिकले राज्य र सार्वजनिक सेवा क्षेत्रमा पाउने सेवा, सुविधा र छुटको सुनिश्चितता गरेको छ। सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको व्यवस्था भए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन।
औषधोपचारमा छुट दिने भनिए पनि सबै अस्पतालमा त्यो कार्यान्वयनमा छैन। अस्पतालमा ज्येष्ठ नागरिकका लागि छुट्टै श्ययाकोसमेत व्यवस्था गर्नुपर्ने ऐनमा उल्लेख छ। ६० वर्ष पुगेपछि मानिस ज्येष्ठमा पर्ने हुँदा त्यही बेलादेखि नै सामाजिक सुरक्षा भत्ता दिनुपर्ने माग गर्दै आएका छन्। अहिले ७० वर्ष नाघेकाले मात्र सामाजिक सुरक्षा भत्ता पाउँछन्। ज्येष्ठ नागरिकको सामाजिक, सांस्कृतिक, आर्थिक अवस्थामा सुधार ल्याउन विद्यमान ऐन, कानूनको परिपालनासँगै समाजका सबैपक्ष जिम्मेवार बन्नुपर्ने सामाजिक विकास कार्यालयका प्रमुख डम्बर जिसीले बताए।
उनले ज्येष्ठ नागरिकको सबालमा राज्य संवेदनशील रहेको उल्लेख गरे। बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले ज्येष्ठ अवस्था मानिसको विशेष अवस्था भएकाले सोहीअनुसारको खानपान, आहारविहार र स्याहारसुसार चाहिने बताए।
उनले सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमालगायतका कार्यक्रममार्फत सरकारले ज्येष्ठ नागरिकको हित प्रवद्र्धनमा टेवा पुर्याईरहेको बताए। छुट, आरक्षणलगायतका सेवा, सुविधाबाट ज्येष्ठ नागरिकलाई बञ्चित गर्न नहुने उनको भनाइ छ। नगरले ज्येष्ठ नागरिक लक्षित कार्यक्रम ल्याएर माग सम्बोधन गर्ने प्रयास गरिरहेको नगरप्रमुख पौडेलले बताए।
सङ्घका अध्यक्ष लालचन्द्र राजभण्डारीले जिल्लाका १० वटै स्थानीय तहमा सङ्गठन विस्तारको योजना रहेको सुनाए। उनले यसअघि ज्येष्ठ नागरिकलाई लठ्ठी प्रदान गर्ने, उपचारमा सहयोग, तालिमलगायत कार्यक्रम गरिएको बताए। सङ्घले यस वर्ष ज्येष्ठ नागरिकलाई झोला, टर्च लाइट र छाता प्रदान गर्ने योजना बनाएको छ।