गुल्मी - एक कुनामा उपल्लो तम्घास माध्यमिक विद्यालयको बस। अर्को कुनामा रेसुङ्गा नगरपालिकाको सवारी, अर्को कुनामा नगरपालिकाकै फोहर फाल्ने गाडी र अर्को कुनामा नगरपालिकाकै ट्याक्टर र डोरज। ग्राउण्डलाई चारैतर्फबाट सवारीले घेरेका छन्।
यति मात्र होइन, बीचमा व्याडमिन्टन खेल्ने ठाउँ र केही मोटरसाइकल समेत छन्। गुल्मीको रेसुङ्गा नगरपालिकाका थप दुईवटा गाडी र सडक कार्यालयको एउटा गाडी समेत त्यही ग्राउण्डमा पार्किङ हुने गर्दछ।
यसरी मैदानमा दैनिकजसो एउटा स्कुलबस, विभिन्न कार्यालयका पाँच गाडी, तीन ट्याक्टर, एउटा फोहर फाल्ने गाडी, नगरपालिकाकै खानेपानीको ट्याक्टर र १० वटा जति मोटरसाइकल हुन्छन्। उक्त स्थान झट्ट हेर्दा सवारी पार्किङस्थल र खेलमैदान जस्तो देखिन्छ। तर त्यो कुनै पार्किङस्थल नभई रेसुङ्गा नगरपालिकाको हाटबजार हो। नगरपालिकाले विगत दुई वर्षदेखि सञ्चालनमा ल्याएको हाटबजार केही महिनादेखि बन्द हुँदा पार्किङस्थलमा परिणत भएको छ।
झण्डै सात वर्षअघिबाट बनाउन सुरु गरिएको हाटबजार आर्थिक वर्ष २०७६/७७ मा निर्माण सम्पन्न भयो। निर्माण भइसकेपछि पनि केही महिना सञ्चालनमा आएन। चौतर्फी दबाबपछि नगरपालिकाले नै हाटबजार सञ्चालन गर्यो। हाटबजार सञ्चालनमा आउँदा कृषक र ग्राहकलाई राहत मिलेको थियो। तर अहिले बन्द हुँदा भने दुवैलाई निरास बनाएको छ।
‘हाटबजार सञ्चालन हुँदा उत्पादित तरकारी लिन गाडी घरमै आउँथ्यो, मूल्य पनि राम्रै पाएका थियौं’, रेसुङ्गा नगरपालिका-४ अर्खलेका कमलप्रसाद आचार्यले भने, ‘अहिले तरकारी बेच्नका लागि डोकामा बोकेर बजार डुल्नुपरेको छ।’ बिचौलियाका रूपमा प्रस्तुत हुने व्यापारीले सस्तोमा सामग्री राख्ने हुँदा आफूहरूले उचित मूल्यसमेत नपाएको उनले गुनासो गरे।
सोही ठाउँकै अर्का कृषक ज्ञानबहादुर दर्लामीले मौसमअनुसारका तरकारी उत्पादन गर्छन्। अहिले उनको बारीमा बन्दा, टमाटर, प्याज, भेन्डी, तितो करेला, काँक्रो, लौका, सिम्ला मर्च, खुसार्नीलगायतका फलफूल र तकारी छन्। तर उत्पादित तरकारी बेच्नका लागि उनी डोको बोकेर बजार धाउने गर्छन्। हाटबजार बन्द हुँदा आफूहरूले निकै सास्ती खेप्नुपरेको दर्लामीको भनाइ छ। ‘क्विन्टल तरकारी उत्पादन गरेर पनि बिक्रीका लागि १०-२० किलो डोकामा बोकेर हिँड्नुपरेको छ’, उनले भने, ‘सकेसम्म छिटो हाटबजार सञ्चालन गरेमा सहज हुने थियो।’
आचार्य र दर्लामी त समस्यामा परेका किसानका प्रतिनिधिमूलक पात्र मात्रै हुन्। सदरमुकाम नजिकका मात्र नभई तम्घास बजारलाई बजारीकरणको अपेक्षामा राखेर तरकारी तथा फलफूल उत्पादान गरेका अन्य ठाउँका कृषक पनि निरास बन्न थालेका छन्। गुल्मीको रेसुङ्गा नगरपालिका, गुल्मीदरबार, इस्मा र धुर्कोट गाउँपालिकाका साथसाथै अर्घाखाँचीको मालारानी र छत्रदेव गाउँपालिकाका कृषक समेत हाटबजार बन्द हुँदा प्रभावित बनेका छन्। हाटबजार बन्द हुँदा व्यापारीले सस्तोमा खरिद गरेर उपभोक्तालाई महँगोमा बिक्री गर्दा कृषक र उपभोक्ता दुवै मर्कामा परेका छन्।
हाटबजार निर्माणका लागि अहिलेसम्म पाँच वटा सरकारी कार्यालयले कूल रु एक करोड ३३ लाख ५० हजार लगानी गरेका छन्। साविकको जिल्ला कृषि विकास कार्यालयको रु १४ लाख, साविकको जिल्ला विकास समितिको रु आठ लाख, साविकको पशु सेवा कार्यालयको रु १० लाख र अन्य रकम लुम्बिनी प्रदेश सरकार र रेसुङ्गा नगरपालिकाको छ।
हाटबजारको जग्गा भने साविक जिल्ला विकास समिति अर्थात् हालको जिल्ला समन्वय समितिको नाममा छ। शीतभण्डारसहित सञ्चालन गरिएको हाटबजार यसअघि पनि पटक-पटक बन्द हुँदै सञ्चालनमा आएको थियो। यसअघि कारोनाका कारण देखाएर बन्द गरिएको हाटबजार रेसुङ्गाले अहिलेसम्म पनि सञ्चालन गर्न सकेको छैन।
रेसुङ्गा नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष राम्जी पन्थीले केही समयभित्रै हाटबजार सञ्चालनमा आउने दाबी गरे। नगरपालिकाले सञ्चालन गर्दा घाटा हुने भएकाले निजी क्षेत्रसँग समन्वय गरी लिजमा दिने तयारी भइरहेको उनले बताए। ‘हाटबजार सञ्चालनमा हामी गम्भीर छौँ, अहिले नगरप्रमुखका बुवाको निधन भएका कारण प्रक्रिया अगाडि बढाउन रोकिएको छ’, उनले भने, ‘बढीमा एक महिनामा सञ्चालन गर्छौँ।’