काठमाडौँ – सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पास गराउन आह्वान गर्दै संसदमा एमसीसी टेबल गराउने अडान राखिरहँदा गठबन्धनको दोस्रो साझेदार दल माओवादी केन्द्रले भने एमसीसी टेबल गराउन नहुने अडान कायम राखेको छ।
माओवादी केन्द्रका भ्रातृ संगठनले आज शुक्रबार संसदमा एमसीसी टेबल नगराउन चेतावनी दिँदैराजधानीको नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका छन्। आज शुक्रबार मध्याह्न १२ बजेदेखि माओवादी केन्द्रका भ्रातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) र अनेरास्ववियु (क्रान्तिकारी)ले संयुक्त रूपमा नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन्।
माओवादीका युवा नेताहरूले नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि एमसिसीविरुद्ध प्रदर्शन गरिरहेका छन्। भर्खरै शुरू भएको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगराउन उनीहरूले कांग्रेसलगायत सबै दलहरूसमक्ष दबावस्वरूप उक्त आन्दोलन गरेका हुन्। सत्ता साझेदार दल माओवादी केन्द्रले शुरूदेखि नै एमसीसी नेपालको हितमा हुनका लागि केही परिमार्जन आवश्यक रहेको दाबी गर्दै आएको छ।
सत्तासिन दल नेपाली कांगरेसले भने ढिला नगरी एमसीसी पास गर्नुपर्नेमा जोड गरिरहेको हुँदा माओवादी केन्द्रका भ्रातृ संस्था सडकमा उत्रिएका हुन्। माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल गराउन नहुने अडान कायम राखेको छ।