रसुवा - जनैपूर्णिमा पर्वका अवसरमा स्नानका लागि पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजन फर्कने क्रम जारी छ। गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार करिब १० हजार भक्तजनले गोसाइँकुण्ड दहमा स्नान तथा पूजा आराधना गरी आ-आफ्ना गन्तव्यतर्फ फर्किन थालेका हुन्।
यस वर्षको गोसाइँकुण्ड मेलाअन्तर्गत जनैपूर्णिमाको दिन पानी नपरेका कारण भक्तजनलाई स्नान तथा पूजा आराधना गर्न सहज भएको थियो। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक झलक शर्मा पौडेलका अनुसार गोसाइँकुण्ड गएका केही सामान्य बिरामीबाहेक सबै यात्रु सकुशल आफ्नो गन्तव्यतर्फ फर्किएका छन्। उनले फाटफुटबाहेक सबै यात्रु कुण्डबाट फर्किसकेका बताएका छन्।
सडक मार्गको असहजताका कारण टाढाटाढाबाट आउन ढिलो भएका केही भक्तजन कुण्ड स्नानका लागि तीर्थको नजिक पुगिसकेका छन्। गोसाइँकुण्डबाट फर्किएका भक्तजनमध्ये अपराह्नसम्म करिब ४० प्रतिशत धुञ्चे पुगिसकेका र २० प्रतिशत भने रसुवाबाट बाहिरिसकेको बताइएको छ। हिमाली क्षेत्रमा सञ्चार नेटवर्क नभएका कारण अन्य विषयको जानकारी भने आउन बाँकी रहेको बताइएको छ।