काठमाडौँ - नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को नयाँ पोस्टर सार्वजनिक भएको छ। जहाँ अमिताभ बच्चनलाई चित्रण गरिएको छ। फिल्ममा बच्चनको यो ‘फस्टलुक’ समेत हो।
पोस्टरमा बच्चनका दुई लुक्स देख्न सक्छ। पोस्टरको माथिल्लो भागमा सगरमाथा क्षेत्रको पदयात्रामा निस्किएको लुक्स देखाइएको छ भने तलतिर नेपाली टोपीमा नृत्य गर्दै गरेको देखाइएको छ।
फिल्मको कथावस्तुअनुसार पोस्टरमा दर्शाइएका अमिताभको सन्दर्भ नेपालसँग जोडिएको छ। मंगलबारदेखि अमिताभ ८० औं वर्षमा टेक्दैछन् र त्यसको अवसरमा निर्माण कम्पनी राजश्री प्रोडक्सनले अमिताभलाई लिएर पोस्टर लन्च गरेको हो।
मित्रताको कथा भन्ने यो फिल्मलाई झन्डै १ महिना लगाएर नेपालका हिमाली भूगोलमा छायांकन गरिएको थियो। अमिताभ नेपाल आएका थिएनन् तर उनकै डमी एक्टरलाई लिएर सुटिङ गरिएको थियो।
सुरज वर्जत्य निर्देशित फिल्म कात्तिक २५ गते प्रदर्शनको तयारीमा रहेको छ।