रौतहट - रौतहट स्थित प्रहरी गस्ती टोलीले नौ लाखभन्दा बाढी अवैध रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार सीतामढी जिल्ला बैरगनिया-६ का ३६ वर्षीय राजकुमार भगत रहेका छन्।
उनको साथबाट ९ लाख ६४ हजार नेपाली रुपैयाँ बरामद भएको रौतहट प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताएका छन्। प्रवक्ता मल्लका अनुसार बुधबार दिउँसो जिल्ला प्रहरीबाट खटिएको प्रहरी गस्ती टोलीले गौर १ ट्रसमिटर चोकमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गरिरहेको थियो। सोही क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकल चेक जाँच गर्दा स्रोत नखुलेको उक्त रुपैयाँ फेला परेको प्रवक्ता मल्लले जानकारी दिएका छन्।
बरामद गरिएको रकम र मोटरसाइकलसहित राज कुमार भगतलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।