आठ सय मिटर लामो झोलुङ्गे पुल निर्माण

इलाम - इलामको दक्षिणी क्षेत्र माई नगरपालिका– ६ को बिहीबारे र वडा १ को घण्टे जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ। आठ सय २० मिटर लामो झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको हो। नेपालमा निर्माण भएकामध्ये दोस्रो लामो झोलुङ्गे पुल रहेको बताइएको छ।

पुल निर्माणपछि केही दिनमा नगरपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ। झोलुङ्गे पुल निर्माणपछि माइखोला वारपार गर्न सहज भएको छ। यसअघि महाकालीको दोधारा–चाँदनी जोड्ने एक हजार ४५२ मिटर लामो पुल बनेको थियो। स्थानीय पूर्वाधार विभाग सस्टेन्सन ब्रीज डिभिजनका इञ्जिनीयर उपेन्द्र देवकोटाले त्रिवेणी सुस्तामा एक हजार ५७२ मिटर लामो झोलुङ्गे पुल निर्माण हुने जानकारी दिए। यस्तै सिन्धुलीमा कमलामाईमा समेत यस्तै पुलको डिजाइन गरिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभागबाट रु आठ करोड २० लाखमा पुलको निर्माण सम्पन्न भएको हो। 

निर्माण कम्पनी थानी हिमशिखर जेभीले निर्माण अवधिको छ महिना अगाडि नै पुल निर्माण सम्पन्न गरिएको देवकोटाले जानकारी दिए। सात पिलरसहित निर्माण गरिएको यो झोलुङ्गे पुलमा चार टावर रहेका छन्। माई खोलामा पुल निर्माण भएपछि माई– १ को घण्टेदेखि लिएर देउमाई नगरपालिका जितपुरसम्मका बासिन्दालाई आवतजावत् गर्न सहज भएको छ। 

बिरामीलाई अस्पताल लैजान र विद्यार्थीलाई विद्यालय जान मद्दत पुगेको स्थानीयवासी प्रेमबहादुर कार्कीले बताए। उनका अनुसार यो पुलले स्थानीयवासीलाई इलाम सदरमुकाम जानसमेत सहज भएको छ। यो क्षेत्रमा पुल नहुँदा गत वर्ष मात्र तीन विद्यार्थीलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×