काठमाडौँ - यही चैत २९ देखि वैशाख ४ गतेसम्म खोटाङका ५३ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको छ।
टाइफाइड रोगको सङ्क्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको नीतिअनुसार जिल्लाका दशवटै स्थानीय तहमा एकैसाथ खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए। “टाइफाइड रोगको सङ्क्रमण सबै उमेर समूहमा हुन्छ, तर १५ वर्षमुनिका बालबालिकामा ११ गुणा बढी हुने एक अध्ययनले देखाएको छ”, उनले भने, “सरकारको नीतिअनुसार सञ्चालन गर्न लागिएको टाइफाइडविरुद्धको खोप अभियान सफल पार्न जिल्लाका सबै संयन्त्र परिचालन गरिएको छ।”
टाइफाइड रोगविरुद्धको खोप अभियानअन्तर्गत सोमबार जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षा निकाय तथा पत्रकारसँग स्वास्थ्य कार्यालयले अन्तक्रिया गरेको छ। अन्तक्रियामा सहभागी जिल्लास्थित सबै सरोकारवाला व्यक्ति तथा निकायले टाइफाइडविरुद्धको खोप अभियान सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयमा आयोजना गरिएको अन्तक्र्रियामा खोप लगाएपछि खोप लगाएको भागमा रातो हुने, सुन्निने, दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, आलस्य लाग्ने, शरीरमा बिमिरा आउने, हातखुट्टा दुख्ने, जोर्नी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखापर्ने जनाइएको छ।
साथै, खोप लगाएपछि देखिने लक्षणबाट नआत्तिन र गम्भीर समस्या आइपरेमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न जिल्ला स्वास्थ्य कार्यालय खोटाङले आग्रह गरेको छ। जिल्लामा सञ्चालन गर्न लागिएको खोप अभियानमा एक हजार ४४२ स्वयंसेवक र ७२७ खोप कार्यकर्ता परिचालन गरिएको जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले जानकारी दिए। जिल्लालाई भ्याक्सिन भायल ११ हजार ८४८, एडिसिरिन्ज ५८ हजार ६५२, आइसप्याक एक हजार २४३, कोल्ड क्यारियर ३०६ लगायत आवश्यक पर्ने सम्पूर्ण सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ।
दश स्थानीय तह रहेको जिल्लामा ७११ वटा खोप केन्द्र निर्धारण गरेर एकैसाथ १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको हो।