एजेन्सी । नेपाल तामाङ घेदुङ इजरायलले सोनाम ल्होछारको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । प्रवासमा रहेर तामाङ धर्म, संस्कृति र भाषाको संरक्षण र सम्वर्द्धनका लागि योगदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको हो ।
घेदुङले जारी गरेको विज्ञप्तिमा ‘बौद्ध धर्मावलम्बीहरुको महान नेपाली राष्ट्रिय पर्व मञ्जुश्री संवत २८५८ तग र च्यान ल्हो अर्थात (बाघ वर्ग ) सोनाम ल्होछारको पावन अवसरमा प्रवासमा रहेर पनि आफ्नो धर्म, भाषा,भेषभुषा लिपी, कला, साहित्य, संस्कार, संस्कृति, चाडपर्व, रिमठिम परम्परा आदिको संरक्षण सम्वर्द्धन र विकासको मूल उदेश्य लिएर विगतका वर्षहरुमा झैँ यो वर्ष पनि धर्म गुरुहरूकाे बाहुल्यतामा बौद्ध धर्म परम्परागत विधिवद्ध साँस्कृतिक पुजापाठका साथै इजरायलमा रहेका राष्ट्रिय ख्याती प्राप्त स्थानीय कलाकारहरुको उपस्थितिमा मनोरञ्जनात्मक वेजोड प्रस्तुतिका साथ प्रत्यक्ष नाचगानका सांगेतिक कार्यक्रम’ राखिएको बताइएको छ ।
कार्यक्रममा इजरायलमा रहेका नेपालीहरुबीच भेटघाटका साथै स्वादिष्ट परिकारका रात्री भोजनसँगै मौलिक चाड सोनाम ल्होछार मनाउने तयारी भएको सबैमा जानकारी गराइएको छ ।
इजरायलमा रहेका क्रियाशील राजनीतिक, समाजिक तथा धार्मिक संघसंस्थाका अध्यक्षहरु तथा पदाधिकारीहरुलगायत तामाङ तथा गैरतामाङ नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरुमा सोनाम ल्होछार–२०७८ कार्यक्रममा सरिक हुनका लागि घेदुङले अनुराेध गरेकाे छ ।
कार्यक्रम इजरायलकाे तेल अविवस्थित इभ पार्टी हलमा फ्रेबुअरी महिनाकाे ११ मा हुने बताइएकाे छ ।