पोखरा - नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा एपीएफले सुदूरपश्चिममाथि ५ विकेटको सानदार जित हात पारेको छ। यसअघिका ३ वटै खेल जितेको एपीएफ सेमिफाइनल पुगिसकेको छ भने हारसँगै सुदूरपश्चिम भने प्रतियोगिताबाट बाहिरिएको छ।
जितका लागि पाएको ९३ रनको लक्ष्य एपीएफले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो। एपीएफका लागि तेस्रो क्रमकी ब्याटर इन्दु बर्माले सर्वाधिक ४५ रन बनाइन्। ओपनर ज्योति पाण्डे १६ बलमा ११ रन बनाउँदै बोल्ड भइन्। अर्की ओपनर सीता राना मगर ४ रनमै क्याच आउट भएपछि तेस्रो क्रमकी ब्याटर इन्दु बर्माले एपीएफलाई उकासेकी हुन्।
ममता चौधरी ७ र मञ्जु बोगटी २ रनमा भभेलियन फर्किएका थिए। रोमा थापा ११ र नेरी थापा ४ रनमा अविजित रहेका थिए। सुदुरपश्चिमका लागि मनिष चौधरी, अनु खडायत, डली भट्ट र स्नेहा महराले समान १ विकेट लिएका थिए।
पोखरा रंगशालामा टस जितेर ब्याटिङ्ग गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ९२ रन बनाएको थियो। सुदूरको लागि ऋतुले ४६ बलमा २ चौकासहित सर्वाधिक ३५ रनमा अविजित रहेकी थिइन्। ओपनर विन्दु रावल १८ बल खेल्दै ८ रनमा बोल्ड भइन्। दोस्रो विकेटका लागि रवि पोदार र ऋतुले २९ रनको साझेदारी गरेका थिए।
मध्य गतिकी बलर सुष्मा श्रेष्ठको बलमा बोल्ड हुनुअघि पोदारले ३५ बलमा ३ चौकासहित २३ रन बनाइन्। स्नेहा महरा २० बलमा १ चौकासहित १८ रनमा इन्दु बर्माको बलमा बोल्ड भइन्।
तेस्रो विकेटका लागि महरा र ऋतुले सर्वाधिक ४१ रनको साझेदारी गरेका थिए। एपीएफको लागि नेरी थापा, इन्दु बर्मा र सुष्मा श्रेष्ठले समान १ विकेट लिएका थिए।