काठमाडौँ। भैरहवाबाट काठमाडौं उडान भर्न लागेको जहाज चढ्न नमानेपछि यात्रुहरू बुधबार भैरहवा विमानस्थलमै रोकिएका थिए। यात्रुले सोही जहाजमार्फत आफूहरुलाई ल्याउन लागेको भन्दै नचेढ्ने अडान राखेका थिए। उडान तय गरिएको उडान नम्बर यु फोर–८१०, ९ एन–एएनआई जहाजमा प्राविधिक समस्या देखिएको थियो।
बेलुका नौ बजेर पाँच मिनेटका लागि उडान तय गरिएको उक्त जहाजमा ७० जना यात्रु थिए। ती यात्रुलाई बुद्ध एयरकै अर्को ९ एन–एजेएस जहाजमार्फत काठमाडौं ल्याइएको एयरले जनाएको छ। राती ११ बजेर २३ मिनेटमा उडेको उक्त जहाज ११ बजेर ५० मिनेटमा काठमाडौं ल्याण्ड भएको थियो।
बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार जहाजमा सामान्य प्राविधिक समस्या देखिएकाले यसअघिनै अर्को जहाजबाट यात्रु काठमाडौं ल्याउन तयारी गरिसकेको थियो। ‘जहाजमा खराबी आएको जानकारी हुँदाहुँदै कम्पनीले हेलचेक्र्याइँ गर्दैन’, कर्णले भने, ‘हामी सचेत छौं, समस्या आउँदा आउँदै उडाउँदैनौं।’
समस्या देखिएको जहाज पनि ९ एन एजेएस जहाजमार्फत काठमाडौंबाट गएको प्राविधिक टोलिले आधाघण्टामै मर्मत गरेको कर्णले जानकारी दिए।