मकवानपुर – स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
सार्वजानिक मत परिणाम अनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार तथा भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
ईन्द्रसरोवरको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ। पुडासैनीले तीन हजार ७२२ मत र लामाले तीन हजार ७२५ मत प्राप्त गरेका थिए भने प्रमुखमा कांग्रेसका विश्व लामाले तीन हजार ४७२ मत प्राप्त गरे।
यस गाउँपालिकाको पाँच वडामध्ये कांग्रेस तीन वडामा विजयी भएको छ भने एमालेले दुईवटा वडामा मात्र जित हात पार्न सफल भयो।
त्यस्तै जिल्लाको भीमफेदी गाउँपालिका प्रमुखमा एमालेका हिदम लामा विजयी भए। आज बिहान सकिएको मतगणना अनुसार लामाले नेकपा (माओवादी केन्द्र)का बद्रीबहादुर स्याङ्तानलाई पराजित गरे। लामाले पाँच हजार ५९१ मत प्राप्त गर्दै विजयी भए भने माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरे।
उपप्रमुखमा नेकपा(एमाले) की पार्वती रानालाई पराजित गर्दै नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी भएका हुन्। श्रेष्ठले यसअघिकी उपाध्यक्ष रानालाई जम्मा १६ मतान्तरले पराजित गरे।