काठमाडौँ - आसिफ शेखको शतकको सहयोगमा नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा ७ विकेटको जित निकालेको छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा तीन विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा आसिफ शेखले ११० रनको शतकीय पारी खेलेका थिए। १२० बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरेका थिए। त्यसतै अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले। ९७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए।
नेपालका लागि ज्ञानेन्द्र मल्लले २४ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन र रोहित कुमार पौड्यलले ३ रन जोडेका थिए। केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले १/१ विकेट लिएका थिए।
यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २१८ रन बनाएको थियो। केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय पारी खेलेका थिए। पटेलले ६७ रन बनाउँदा ओबुयाले ६२ रनको योगदान गरे।
त्यस्तै ईफ्रान करिमले ३१ बनाए। नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३/३ विकेट लिएका थिए। त्यस्तै आदिल आलम र पवन सर्राफले समान १/१ विकेट लिए। जितसँगै नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।