काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले आजको बैठकमा राखिएको कार्यसूची हटाएर बैठक स्थगित गरेका थिए । यसअघि आजै बसेको बैठक कांग्रेसको अवरोधकै कारण १५ मिनेट स्थगित गरिएको थियो ।
झण्डै दुई घण्टापछि पुनः सुरू भएको बैठक कांग्रेसको नाराबाजीपछि स्थगित भएको हो । सभामुख घिमिरेले गृहमन्त्रीलाई लामिछानेलाई राजनीतिक दलसम्बन्धी २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने समय दिएपछि कांग्रेसले संसद अवरोध गर्दै नाराबाजी गरेका थिए । कांग्रेसले अनुसन्धानको दायरामा रहेका गृहमन्त्री लामिछानेको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद अवरोध गरेको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको जवाफ नआएसम्म कार्यसूचीमा प्रवेश गर्न नदिने चेतावनी दिएका थिए । उनले भने, ‘बजेटसम्बन्धी कुनै पनि विषयमा अवरोध गर्न चाहँदैन । नेपाली कांग्रेसले निरन्तर एउटा प्रश्न उठाइराखेको छ । कुनै पनि माननीय मन्त्रीजी कुनै पनि अनुसन्धानको दायराभित्र छानबिनको घेराभित्र पर्नु भएको छ भने राज्य त्यो ढंगबाट अगाडि बढ्नुपर्थे स्थिति छ भने त्यस्ता माननीय मन्त्री ज्यूलाई आफ्नो पदमा बसिराख्न हक हुँदैन ।’