काठमाडौँ - दोलखाका सुनुवार समुदायको संस्कृति संरक्षणको लागि दोलखाको तामाकोशी गाउँपालिकामा सुनुवार सङ्ग्रहालय स्थापना गरिएको छ।
दोलखाको तामाकोशी गाउँपालिका– ७ हावामा निर्माण गरिएको सङ्ग्रहालयको तामाकोशी गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले उद्घाटन गरेका हुन्। गाउँपालिकाको विभिन्न वडामा बसोबास गरेका सुनुवार समुदायको लोप हुन लागेको संस्कृतिको संरक्षण गर्न सो समुदायसँगको समन्वयमा सङ्ग्रहालयको स्थापना गरिएको पालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए। सङ्ग्रहालयले सुनुवारको संस्कृति संरक्षण मात्र नभइ सङ्ग्रहालयको अध्ययनका लागि विभिन्न ठाउँबाट पर्यटकसमेत आउने अपेक्षा गरिएको छ। गाउँपालिकाको २७ लाख ६५ हजार लागतमा सङ्ग्रहालय स्थापना गरिएको हो। सुनुवार सङ्ग्रहालयमा परापूर्वकालदेखि सुनुवारले प्रयोग गर्दै आएका विभिन्न सामग्री, वेषभूषा, बाजागाजालगायतका सामग्री संरक्षण गरेर राखिएको स्थानीयवासी नवीन सुनवारले बताए।
दोलखाको तामाकोशी गाउँपालिकाको च्यामा हावालगायतको क्षेत्रमा बाक्लो मात्रामा सुनुवार समुदायको बसोबास रहेको छ। सङ्ग्रहालय निर्माणका लागि जग्गा दान गर्ने जग्गादाता भुवानी सुनुवारलाई गाउँपालिकाले सम्मान गरेको छ।