काठमाडौँ - मध्यपूर्वी एसिया कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार रातिका २ खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो।
अन्तिम चारमा युरोपबाट २ टोली र दक्षिण अमेरिका तथा अफ्रिकाबाट १/१ टोलीले स्थान बनाएका छन्। युरोपबाट साबिक विजेता फ्रान्स र उपविजेता क्रोएसियाले स्थान बनाउँदा २ पटकको च्याम्पियन दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले स्थान सुरक्षित गरेको हो।
यसैगरी मोरक्को कीर्तिमान रच्दै पहिलो अफ्रिकन सेमिफाइनलिस्ट बन्यो। विश्वकपमा अफ्रिकन टोली पहिलो पटक सेमिफाइनलमा पुगेको हो। सेमिफाइनल खेलहरु बुधबार र बिहिबार राति हुनेछन्। पहिलो खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा फ्रान्स र मोरक्कोबीच भिडन्त हुनेछ। दुबै खेल राति पौने १ बजेबाट सुरु हुनेछ।