काठमाडौँ - ब्राजिलियन सुपरस्टार नेयमार जुनियरले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाटै युइएफए च्याम्पियन्स लिगको उपाधि जित्न चाहेको बताएका छन्।
पीएसजी छाड्ने चर्चा चलिरहँदा उनले पीएसजीमै रहने र पिएसजीबाटै च्याम्पियन्स लिग जित्ने चाहना व्यक्त गरेका हुन्। पीएसजीसँग नेयमारको सम्झौता २०२५ सम्म रहेको छ।
‘मेरो महत्वाकांक्षा सधैं उस्तै छ, सम्भव भएसम्म हरेक उपाधि जित्ने हो। अर्काे सिजन राम्रो खेल्दै विश्वकप र च्याम्पियन्स लिग जित्ने मेरो लक्ष्य हो।’ नेयमारले भने, ‘पीएसजीसँग मेरो सम्झौता बाँकी नै छ। पिएसजी छाड्ने मेरो कुनै मनासय छैन। म पीएसजीमै रहनेछु।’
नेयमार सन् २०१७ मा क्याटलान क्लब बार्सिलोनाबाट कीर्तिमानी १ सय ९८ मिलियन पाउण्डमा पीएसजीमा भित्रिएका थिए। तर,उनले पीएसजीबाट च्याम्पियन्स लिग जित्न सकेका छैनन्।
यस्तै एमबाप्पेले पीएसजीमा गरेको सम्झौता नविकरणबाट आँफु खुशी रहेको पनि बताएका छन्। एमबाप्पेले स्पेनिस क्लब रियल म्याड्रिडको प्रस्तावलाई लत्याउँदै पीएसजीमा ३ वर्षको सम्झौता नविकरण गरेका छन्।