काठमाडौँ - अर्जेन्टिना रेसिङ क्लबबाट सिनियर फुटबल करियरको सुरुवात गरेका फरवार्ड २५ वर्षिय मार्टिनेजले सन् २०१८ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। मार्टिनेज इटाली गएर इन्टर मिलानबाट खेल्न थालेपछि उत्कृष्ट प्रदर्शन गर्दै इन्टरलाई सन् २०२०-२१ मा सिरी ए को उपाधि दिलाएका थिए।
उक्त सिजन मार्टिनेजले सबै प्रतियोगिताहरूमा ४९ खेलमा २५ गोल गरेका थिए। मार्टिनेजले अर्जेन्टिनाका लागि विश्वकपमा त्यस्तै प्रदर्शन गर्ने आशा गरिएको छ। आक्रामक शैलीमा उत्रने उनले लियोनल मेस्सीसँग उत्कृष्ट साझेदारी गरिरहेका छन्। रुसमा आयोजित विश्वकप गुमाएका मार्टिनेज अब कतार विश्वकपमा चम्किने लक्ष्यमा रहेका छन्।
अर्जेन्टिनाका लागि भने मार्टिनेजले ४० खेल खेल्दै २१ गोल गरेका छन्। मार्टिनेजले यो सिजन सिरी ए फुटबलका लागि १५ खेलमा ७ गोल गरेका छन्।