काठमाडौँ - मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन्।
आचारसंहिताको पूर्णपालनाले मात्र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित सकिने बताउँदै उनले लोकतन्त्रको सुदृढीकरण र निष्ठाको राजनीति संस्कारलाई स्थापित गर्न आचारसंहिता पालनामा सबैले ध्यान पुर्याउन आवश्यक रहेको बताए। संविधानसभामार्फत संविधान जारी गर्ने नेपाली जनताको पुस्तौँदेखिको आकांक्षालाई मूर्तरूप दिन उनकै नेतृत्वमा गठन भएको सरकारले संविधानसभाको दोस्रो सफल निर्वाचन गरेको थियो। उक्त निर्वाचनमा ७८.३४ प्रतिशत मतदान भएको थियो।
पूर्वअध्यक्ष रेग्मीले रासससँग कुराकानी गर्दै भने, “नेपाली जनताको हित र समृद्धिमा संविधान कार्यान्वयन गर्दैअघि बढ्ने कार्यमा सबै लाग्नुपर्छ, विशेष गरी राजनीतिक दलको नेतृत्व वर्गको गहनतम दायित्व हो।” तीनै तह (सङ्घ, प्रदेश र स्थानीय तह)को निर्वाचन गर्नुपर्ने भएकाले आगामी वर्षलाई निर्वाचन वर्षका रूपमा लिन सकिने उल्लेख गर्दै उनले जनताले चाहेका उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न तथा निर्वाचनमा जनसहभागिता, प्रतिस्पर्धा, स्वच्छता, विश्वसनीयता कायम गर्ने वातावरण बनाउनु सबैको पहिलो कर्तव्य भएको बताए। पूर्वअध्यक्ष रेग्मीले भने, “प्रजातन्त्रमा जनताको मताधिकार सुरक्षित हुनुपर्छ, त्यो बनाउनु सरकार, राजनीतिक दल र उम्मेदवारको कर्तव्य हो। दलले संयमतापूर्वक मनोमालिन्यरहित वातावरण बनाउन प्रयत्न गर्नपर्छ, निर्वाचन आयोगले पनि स-साना विषयमा समेत दलका बीचमा परामर्श गरी अघि बढेमा निर्वाचनप्रतिको आस्था र विश्वास जित्न सकिन्छ भन्ने लाग्छ।”
निर्वाचनमा मत हाल्ने जनता र राजनीतिक दलका बीचमा निर्वाचनप्रतिको आस्था र विश्वासलाई डकमगाउन नदिने वातावरण राज्यका सबै निकायबाट हुन जरुरी रहेको बताउँदै उहाँले निर्वाचनमा केही कसैबाट कहीँकतै कमी कमजोरी र भुलचुक हुन दिन नहुने बताए।