काठमाडौँ - भारतीय क्रिकेटर विराट कोहली टी-२० विश्वकप इतिहासमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप अन्तर्गत बुधबार बंगलादेशविरुद्ध अविजित ६५ रन बनाएका कोहलीले सन् २०१४ देखि श्रीलंकन क्रिकेटर माहेला जयबर्दनेको नाममा रहेको १ हजार १६ रनको कीर्तिमान तोडेका हुन्।
बंगलादेशसँग खेल्नुअघि विराटले १ हजार १ रन बनाएका थिए। उनले १६ रन बनाएपछि जयबर्दनेलाई पछि पारेका हुन्। सातौं ओभरको पाँचौ बलमा तस्किन अहमदको बलमा १ रन लिएपछि टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बने। कोहलीले टी-२० विश्वकपमा २५ खेल खेल्दै १ हजार ६५ रन बनाएका छन्।
सन् २०१२ देखि टी-२० विश्वकप खेल्न थालेका कोहलीले २३ इनिङ्समा ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन्। उनले यसक्रममा १३ अर्धशतक पूरा गरेका छन्।
कोहलीले सन् २०१२ मा पहिलो पटक टी-२० विश्वकप खेल्दा प्रतियोगिताभर १८५ रन बनाएका थिए भने २०१४ मा ३१९ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए। सन् २०१६ मा उनले २७३ रन प्रहार गरेका थिए। २०१४ र २०१६ मा कोहलीले वश्विकपकै सर्वोत्कृष्ट खेलाडीसमेत बनेका थिए। उनी टी-२० विश्वकपमा ६ पटक म्यान अफ दि म्याच समेत बनेका छन्।
अष्ट्रेलियामा टी-२० विश्वकपअघि कोहलीले ८४५ रन बनाएका थिए। जारी विश्वकपमा उनले पाकिस्तान र नेदरल्याण्ड्स विरुद्ध अविजित रहँदै अर्धशतक प्रहार गरेका थिए। दक्षिण अफ्रिका विरुद्ध भने उनी १२ रनमै आउट भएका थिए। कोहली टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन्। उनले ३ हजार ९३२ रन बनाएका छन्।