नेपालले श्रीलङ्काको नेभी स्पोर्ट्स क्लबलाई हरायो

काठमाडौँ - श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय टोली नेभी स्पोर्ट्स क्लबलाई १११ रनको भारी अन्तरले पराजित गरेको छ। 

नेपालले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्का नेभी स्पोर्ट्स क्लब २८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो। श्रीलङ्का नेभीका लागि एम मधुशङ्काले सर्वाधिक ३९ रनको योगदान गरे। नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए भने ज्ञानेन्द्र मल्ल र विक्रम सोबले दुई-दुई विकेट लिए। सागर ढकाल, कमल सिंह ऐरी र करण केसीले एक-एक विकेट हात पारे। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१४ रन जोड्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रनको योगदान गरे। आशिफ शेखले ३६, विनोद भण्डारी २२, करण केसी १६, कमलसिंह ऐरी १५, कुशल भुर्तेल १३, रोहित पौडेल १३, सागर ढकाल १३, कप्तान सन्दीप लामिछाने ११, विक्रम सोब ११ र ज्ञानेन्द्र मल्लले दुई रन जोडे। श्रीलङ्का नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक चार विकेट लिए भने अवादतले तीन विकेट हात पारे। 

संयुक्त अरब इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप लिग–२ को तयारीका लागि नेपाल श्रीलङ्का गएको हो। त्यहाँ नेपालले चार अभ्यास खेल खेल्नेछ। चार अभ्यास खेल सकिएपछि नेपाल त्यतैबाट युएई प्रस्थान गर्नेछ। विश्वकप लिग–२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×