काठमाडौं - साहित्यकार लोकराज भट्टको पहिलो उपन्यास ‘छाइल’लाई वक्ताहरूले ‘आञ्चलिक स्वादमा पस्किएको कृति’ भनी टिप्पणी गरेका छन्।
उनीहरूका अनुसार ‘छाइल’ पढ्न सुरु गरेपछि पूरा नपढी धरै पाउँदैनन्। ‘पुस्तकको प्रवेशद्वार भनेकै भाषा हो, छाइलको भाषा नरम छ,’ प्रकाशक बुक्स हिमालयद्वारा शनिबार आयोजित अन्तक्र्रियामा साहित्यकार अभय श्रेष्ठले भने, ‘एकदमै स्वादिलो उपन्यासले डोट्याली सभ्यतालाई नेपाली साहित्यको मूलधारमा प्रवेश गराएको छ।’ ‘छाइल’ लोकार्पण र त्यसपछि आयोजित अन्तक्र्रियामा श्रेष्ठले उपन्यास युवा आकर्षण विश्वास व्यक्त गरे।
अधिकारकर्मी मोहना अन्सारीले साहित्यमा पूर्वी नेपालका कथाले छोपेका बेला सुदूरपश्चिमको मिठो उपन्यास आएको धारणा राखिन्। आफूलाई सुदूरपश्चिमका डोटी, डडेल्धुरा र कैलालीमा बसेको ‘मान्छे हुँ’ भन्दै उनले ‘गरिबीभित्र मान्छे कसरी हुर्कन्छ र कसरी संघर्ष गर्छ ?’ उपन्यासले दर्शाएको जिकिर गरिन्।
कवि सुमन थापा ‘संगम’ले ‘छाइल’लाई ‘अर्गानिक’ भनी टिप्पणी गरे। उनले भने, ‘सुदूरपश्चिमको ऐना हो छाइल।’
पत्रकार एवं समीक्षक राजकुमार बानियाँले उपन्यासभित्रका सन्दर्भ बाचनसहित रोचक ढंगमा अन्तक्र्रियाको बागडोर सम्हाले।
प्रकाशक बुक्स हिमालयका प्रमुख पवन शाक्यले काठमाडौंलगायत प्रमुख सहरमा पुस्तक पुगिसकेको जानकारी दिए।
४ सय ५० रुपैयाँ मूल्यको ‘छाइल’मा बाबुछोराको सम्बन्ध दर्शाइएको छ। जसमा सुदूरको गरिबी चित्रण, दलितको संघर्ष र युवाप्रेम झल्काइएको छ। डोट्याली शब्द ‘छाइल’को अर्थ ‘छायाँ’ हो।