काठमाडौँ - शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका पल्टु चौधरी आफूले उत्पादन गरेको माछाका भुरा बजारमा बिक्री नहुँदा समस्यामा परेका छन्।
कोरोनाको सङ्क्रमणका कारण ह्याचरीमा उत्पादन भएका भुरा बिक्री नहुँदा उनले घाटा व्यहोरेका हुन्। प्रतिवर्ष रु. २५ लाखदेखि रु. ३० लाखसम्मका विभिन्न जातका झण्डै तीन करोड माछाका भुरा बिक्री हुँदै आएका थिए। कोरोनाको सङ्क्रमणपछि भएको बन्दाबन्दीका कारण उहाँले थोरै मात्र माछाका भुरा बिक्री गर्न सकेका हुन्।
“कोरोनाको सङ्क्रमणपछि भुरा खरिद गर्ने ग्राहक थोरै आउदा रु सात लाख जतिको भुरा मात्रै बिक्री गर्न सके”, उनले भने, “उत्पादन गरेका भुरा बिक्री नहुँदा पोखरीमा थन्क्याउनुपरेको छ। बिक्री नै भएनन्। पोखरीमा अधिक माछा हुँदा फस्टाउन नसक्दा निकै घाटा लागेको छ।” हाल कोरोनाको सङ्क्रमण कम हुँदै गएपछि ग्राहक आउन थालेको उनले बताए। “भुरा खरिद गर्ने ग्राहक आउन थालेका छन्”, उनले भने, “पहिला जस्तो सङ्ख्यामा छैनन्। थोरै छन्। पहिलाजस्तै भुराको कारोबार हुनेमा आशावादी भएका छौँ।”
ठूलो सङ्ख्यामा कमन, ग्रास, सिल्भर, विगेट, रहु, नैनी, भ्याकुर र सुधारिएका जातका माछाका भुरा उत्पादन गर्ने व्यवसायीका रूपमा जिल्लामै पल्टु परिचित रहेका छन्। ह्याचरीमा उत्पादन भएका माछाका भुरा सुदूरपश्चिमका सात वटा जिल्लासहित बर्दियासम्म बिक्री हुने गरेका छन्। माछापालकले ह्याचरीमै पुगेर माछाका भुरा खरिद गरी लग्ने गरेका छन्। “पहिला कोरोनाको सङ्क्रमण फैलिनुअघि २०० देखि ३०० बढी माछापालकले ह्याचरीमा उत्पादित भुरा लैजाने गरेका थिए”, उनले भने, “हाल माछाका भुरा खरिद गर्ने पहिलेको तुलनामा आधाभन्दा पनि कम छन्।”
कोरोना सङ्क्रमण अघिसम्म माछापालकको सङ्ख्या ह्वातै बढेकोमा हाल त्यो सङ्ख्या घटदै गएको छ।