काठमाडौँ - राष्ट्रिय क्रिकेट टोलि अन्तर्राष्ट्रिय एकदिवसीय र टी-२० श्रृखंला खेल्न केन्या प्रस्थान गरेको छ। सोमबार राति नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन सम्मिलित टोलि केन्या प्रस्थान गरेको हो।
नेपाल क्रिकेट संघले सोमबार नै केन्या जाने भ्रमण टोलिको विदाइ गरेको थियो। पुबुदु दसानायके प्रमुख प्रशिक्षकबाट राजीनामा गरेपछि संघले प्रमुख प्रशिक्षकको रुपमा मनोज प्रभाकरलाई नियुक्त गरेको थियो। प्रभाकरको प्रशिक्षणमा नेपाली क्रिकेट टोलिले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न लागेको हो।
नेपाली क्रिकेट टोलिले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा अन्तर्राष्ट्रिय टी र एकदिवसीय अन्तर्राष्ट्रियको श्रृखंला खेल्नेछ। केन्या भ्रमणमा नेपालले ५ टी-२० र ३ अन्तर्राष्ट्रिय एकदिवसीय खेल्ने तालिका रहेको छ। भ्रमणको पहिलो अन्तर्राष्ट्रिय टी-२० खेल आगामी बिहीबार ९, भदौमा हुनेछ। अन्तिम टी-२० खेल भदौ १४ मा खेलाइनेछ।
३ खेलको अन्तर्राष्ट्रिय एकदिवसीय श्रृखंलाको पहिलो खेल १७ भदौमा खेलिनेछ। दोस्रो एकदिवसीय खेल १८ भदौमा र भ्रमणको अन्तिम एकदिवसीय खेल २० भदौमा खेलाइने नेपाल क्रिकेट संघले जनाएको छ।
सन्दीप लामिछानेको नेतृत्वमा रहेको टोलिमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आसिफ शेष, आरिफ शेष, दिपेन्द्र सिंह ऐरी, देव खनाल, अर्जून साउद ब्याट्सम्यानका रुपमा अटाएका छन्। त्यसैगरी, पवन सर्राफ, विवेक यादव, सोमपाल कामी, बसिर अहमद, आदिल आलम अलराउन्डरको रुपमा टोलिमा स्थान बनाएका छन्।
साहब आलम, किशोर महतो, करण केसी विशेषज्ञ बलरका रुपमा टोलिमा छन्।