काठमाडौँ - एलेक्जेन्डर ज्वेरेभले पूर्णरूपमा चोटमुक्त नभएको भन्दै यसै महिनाको अन्तिमबाट सुरु हुने युएस ओपन टेनिस प्रतियोगिताबाट नाम फिर्ता लिएका छन्।
जर्मन खेलाडी ज्वेरेभले कुर्कुच्चाको चोट पूर्णरूपमा ठीक नभएकाले प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका छन्। फ्रेन्च ओपनअन्तर्गत राफेल नाडालविरुद्ध सेमिफाइनल खेल्ने क्रममा उनको कुर्कुच्चामा चोट लागेको थियो।
उनले सो चोटकै कारण वर्षको अन्तिम ग्रान्ड स्लाममा सहभागी नहुने घोषणा गरेका हुन्। २ वर्षअघि युएस ओपनको फाइनल प्रवेश गरे पनि ज्वेरेभ डोमिनिक थियमसँग पराजित भएका थिए।
'मैले कुर्कुच्चाको शल्यक्रिया गराएको थिए', ज्वेरेभले भने, 'त्यसैले केही समय थप आराम गर्ने निर्णय लिएको हुँ। जसका कारण म युएस ओपनमा सहभागी हुन्न। म छिट्टै कोर्टमा फर्कनेमा आशाबादी छु।'
युएस ओपन टेनिस प्रतियोगिता आगामी सोमबारबाट सुरु हुँदैछ।