काठमाडौँ - राष्ट्रिय भूमि आयोगले पर्साका १४ वटै पालिकामा आफ्नो काम अघि बढाएको छ। यसअघिका आयोगले छाडेको अधुरो काम अघि बढाउन सबै पालिकामा लगत सङकलनको काम जारी रहेको भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले जानकारी दिएका छन्।
पर्सामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्न विभिन्न तीन चरणमा १४ वटै पालिका र राष्ट्रिय भूमि आयोगसँग यसअघि सम्झौता गरिसकिएको थियो।
सोहीअनुसार पर्साको ठोरी गाउँपालिकामा लगत सङ्कलनको काम पुरा भइसकेको र बाँकी १३ वटै पालिकामा लगत सङ्कलनको काम जारी रहेको भूमि आयोगका सदस्य सचिव एवं प्रमुख नापी अधिकृत नारायणकुमार श्रेष्ठले जानकारी दिएका छन्। त्यसअनुसार अन्य सबै पालिकामा भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लगत फाराम भर्ने गरेका छन्।
सरकारले दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीमध्ये दलित समुदायलाई निःशुल्क र भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई मालपोत निर्धारण मुल्यको ८ देखि २ सय प्रतिशत राजश्वबापतको रकम लिएर जग्गा धनी पुर्जा उपलब्ध गराउने योजना अघि बढाइएको श्रेष्ठले जानकारी दिएका छन्।