काठमाडौँ - स्पिनर संगिता राईको उत्कृष्ट बलिङ सहयोगमा नेपालले एसीसी महिला टी-२० च्याम्पियनसिप २०२२ मा विजयी सुरुआत गरेको छ। मलेसियामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले भुटानलाई ५० रनले हराउँदै विजयी सुरुआत गरेको हो।
जितको लागि ९५ रनको विजयी लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमा अलआउट भयो। भुटानकी छिरिङ जाङ्मोले २८ बलमा सर्वाधिक १६ रन बनाइन्।
भुटानकी एनगावाङ छोडेन ८, सोनाम छोडेन ५, पेमा सोल्डेन ४ रनमा आउट भइन्।
नेपालकी स्पिनर संगिता राईले २.५ ओभरमा ६ रन खर्चेर ४ विकेट लिइन्। कविता कुँवर र सीता रानामगरले २/२ विकेट लिए। इन्दु बर्मा र अश्मिनाले १/१ विकेट लिए।
त्यसअघि मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो। नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोडिन्। उनले ३५ बलमा १ चौका प्रहार गरिन्। यता, कप्तान रुविना क्षेत्रीले २२ बलमा १ चौकासहित २१ रन जोडिन्। इन्दु बर्माले २६ बलमा १ चौकासहित २० रन जोडिन्।
डोली भट्ट ५, सीता मगर ४, ममता चौधरी ३ र विन्दु रावल १ रनमा आउट भइन्। अश्मिना कर्माचार्य र ज्योति पाण्डेले भने खाता खोल्न सकेनन्।
कविता कुँवर १ रनमा अविजित रहिन्। भुटानकी सोनम पाल्डोनले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिइन्।