काठमाडौँ - आगामी कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘के घर के डेरा’ का दुई नयाँ पोस्टर सार्वजनिक भएका छन्। फिल्मका निर्देशक दीपेन्द्रकुमार खनालले फेसबुकमार्फत पोस्टर सार्वजनिक गरेका हुन्।
सार्वजनिक एउटा पोस्टरमा फिल्मका अधिकांश कलाकारहरु दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा आदि फिचर्ड रहेका छन् भने दोस्रो पोस्टरमा विपिन कार्की र वर्षा राउत देखिएका छन्। दोस्रो पोस्टरमा विपिन मुस्कुराएर पल्टिरहेका छन् भने वर्षाले उनको खुट्टा मिचिरहकी छिन्।
महेश दवाडीको पटकथा तथा संवाद रहेको यो फिल्ममा लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री, बाल कलाकार आयुशी ढकालको पनि अभिनय रहेको छ। सिंगे लामाको कथा रहेको यो फिल्ममा शंकर थापा स्माइल र कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन रहेको छ।
ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित यो फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन्। फिल्मका निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन रहेका छन्।