काठमाडौँ । नेपाल बार एशोसिएशनले आज ज्ञापनपत्र बुझाउन पुगेका कानून व्यवसायीहरूलाई भित्र छिर्न नदिएपछि बार प्रशासन र नेतृत्वको चर्को आलोचना भइरहेको छ।
ज्ञापनपत्र बुझाउन पुगेका स्वतन्त्र कानून व्यवसायीहरूलाई बारका पदाधिकारीहरूले भित्र छिर्न नदिएका हुन्। ज्ञापनपत्र बुझाउने सीमित समयका लागि मात्र पनि बार पदाधिकारीहरूले कानून व्यवसायीहरूलाई प्रवेशमा रोक लगाएका हुन्। कालो कोट लगाएका वकीलहरूलाई वकीलहरूकै बारभित्र पस्नबाट रोक लगाउनु सिङ्गो बार प्रशासन र नेतृत्वको कमजोरी भएको स्वतन्त्र कानून व्यवसायीहरूको आरोप छ।
ज्ञापनपत्र बुझाउन नेपाल बार पुगेर बाहिरै रोकिएका अधिवक्ताहरूले नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठतर्फ इंगित गर्दै बारको नेतृत्वले काम गर्न नसकेको आरोप लगाएका छन्। अधिवक्ता आकृति रायमाझीले भनिन्, 'हाम्रै बारमा हामीलाई नै छिर्न दिइएन। के बार वकीलहरूको होइन? हो भने, हामीलाई किन छिर्न दिइएन? के हामीले लगाइरहेको कालो कोट किनेर ल्याएको हो र?'
त्यस्तै, अधिवक्ता भूमिनन्दन चुडालले भने, 'हामी कालो कोट लगाएका वकीलहरूलाई बाहिर उभ्याउनु त्यहाँ भित्र हुने वकीलहरूको पनि त बेइज्जती हो! हामीले शुरूदेखि नै बारको नेतृत्वमा कमजोरी औंल्याउँदै आएका थियौँ त्यो आज पनि वहाँहरूको यस व्यवहारले पुष्टि गरेको छ!'
अर्का अधिवक्ता त्रिलोक बहादुर चन्दले पनि बार नेतृत्वको कमजोरीका कारण आफूहरूकै रगत पसिनाले बनेको बारभित्र आफूहरू नै प्रहरीको घेराबन्दीबीच बाहिरै बस्नुपरेकोमा आपत्ति व्यक्त गरेका छन्। उनले भने, 'आइतबार ३ बजे आउनुस् भन्ने खबर आएको रहेछ। ठीक छ, हामी आइतबार नै आउँछौँ तर खबरदार आइतबार पनि यस्तै दादागिरि गर्न खोजिए हामी सबै वकीलहर मिलेर बार घेराऊ गर्नेछौँ। नेतृत्वको दादागिरि अब हामी सहनेछैनौँ!'
बारभित्रकै अधिवक्ताहरूलाई नै बार छिर्न नदिएपछि स्वतन्त्र कानून व्यवसायीहरू आक्रोशित भएका छन्। उनीहरूले बार प्रशासनसँग प्रश्न गरेका छन्, 'अधिवक्ताहरूको क्याटेगोरी कहिलेदेखि छुट्याउन थालियो अध्यक्षज्यू?' फेरि अर्कोपटक पनि सोही व्यहोराको घटना दोहोरिएको खण्डमा बार नेतृत्वकै विरुद्ध आफूहरूले आन्दोलन गर्ने स्वतन्त्र कानून व्यवसायीहरूले चेतावनी दिएका छन्।
आजको यस घटनासँगै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको चरित्र र नेतृत्वमाथि शंका एवं आलोचना शुरू भइसकेको छ। स्वतन्त्र कानून व्यवसायीहरूले वकीलहरूलाई समेटेर अघि बढ्न नसक्नु बार नेतृत्वको विफलता भएको टिप्पणी गरेको छ।