काठमाडौँ - युएईले आइसिसी वुमन्स टि-२० विश्वकप छनोटमा टेस्ट टोली जिम्बावेलाई ४ विकेटले हराएको छ। समूह बी को पुछारमा रहेको युएईले अन्तिम बलमा शीर्ष स्थानको जिम्बावेलाई स्तब्ध पारेको हो।
जितको लागि १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। अन्तिम ६ बलमा युएईलाई जितको लागि १४ रन चाहिँएको थियो। नोम्वेलो सिबांडाले पहिलो बलमा २ रन खर्चिन्।
दोस्रो र तेस्रो बलमा समान १ रन दिइन्। चौथो बल डट राखेकी थिइन्। अन्तिम २ बलमा १० रन चाहिँएको थियो। पाँचौं बल वाइडसहित ४ रन खर्चिन्। लगत्तै अर्को बलमा २ रन खर्चिन्। वैष्णव महेशले अन्तिम बलमा चौका हान्दै खेल जिताइन्।
युएईकी कविशा इगोेडागे ५७ बलमा ३ चौकासहित सर्वाधिक ४१ रनमा अविजित रहिन्। ईशा ओझा २६ बलमा ३ चौका र २ छक्कासहित ३६ रनमा आउट भएकी थिइन्। विजयी चौका हानेकी महेश ५ बलमा ९ रनमा अविजित रहिन्। जिम्बावेकी लोरेन त्सुमा र प्रिसियोस मारेन्जले २/२ विकेट लिएका थिए।
त्यसअघि आबुधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २० रन बनाएको थियो। जिम्बावेकी शार्न मेयर्सले २३ बलमा ४ चौकासहित सर्वाधिक २३ रन बनाएकी थिइन्। मोडेस्टर मुपाचिका २३ बलमा १ चौकासहित २२ रनमा अविजित रहिन्। युएईकी महेशले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिइन्। खुशी शर्माले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिएकी थिइन्।
समूह ए बाट बंगलादेश र आयरल्यान्ड सेमिफाइनलमा पुगेका छन्। बंगलादेश ३ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ। आयरल्यान्ड ३ खेलमा २ मा जितका साथ दोस्रो स्थानमा रहेको छ। स्कटल्यान्ड २ अंक र अमेरिका अंक विहीन हुँदै बाहिरिएका छन्।
समूह बी मा जिम्बावे ३ खेलमा २ मा जित र १ मा हारसहित शीर्ष स्थानमा रहेको छ। थाईल्यान्ड ३ खेलमा २ मा जित सहित दोस्रो स्थानमा रहेको छ। पपुवा न्युगिनी र युएई समान २ अंकका साथ तेस्रो र चौथो स्थानमा रहेर बाहिरिएका छन्।
पहिलो सेमिफाइनलमा बंगलादेश र थाईल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। अर्को सेमिफाइनलमा जिम्बावे र आरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। सेमिफाइनल शुक्रबार र फाइनल आइतबार हुनेछ। फाइनलमा पुग्ने २ टोली आगमी वर्ष दक्षिण अफ्रिकामा हुने टि-२० विश्वकपको लागि छनोट हुनेछन्। नेपाल भने एसिया क्षेत्रैबाट बाहिरिएको थियो।