नेपाली क्रिकेट टोलीका थप तीनको भिसा आयो, अझै चार बाँकी

काठमाडौँ - केन्या जाने नेपाली क्रिकेट टोलीका सबै सदस्यको भिसा अझै अन्योलमा छ। अघिल्लो दिन केन्यासँग ५ ट्वान्टी-२० अन्तर्राष्ट्रिय र ३ एकदिवसीय शृंखला खेल्नका लागि नेपाली टोलीका १४ सदस्य नैरोबी लागे पनि ७ जनाको भिसा नआउँदा उनीहरू काठमाडौंमै रोकिएका थिए।

व्यवस्थापक सुनील महासेठ, ट्रेनर भारतका अब्दुल सतार तथा ५ खेलाडी बसिर अहमद, शाहब आलम, आदिल अलाम, विवेक यादव र सोमपाल कामी भिसा नआएका कारण सोमबार जान पाएका थिएनन्। मंगलबार राति १० बजेसम्मको स्थितिमा व्यवस्थापक महासेठ, खेलाडी सोमपाल र विवेकको भिसा आएको छ।

ट्रेनर सतार र ३ खेलाडीको भिसा अझै आइपुगेको छैन। नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले मंगलबार रातभरमा सबै खेलाडीको भिसा आइसक्ने विश्वास दिलाएका छन्। ‘केन्या क्रिकेटले अघिल्लो दिन नै २४ घण्टाभित्र बाँकी रहेका सबैको भिसा आउने बताएको थियो, त्यहीअनुसार अहिले पालैपालो ३ जनाको भिसा आयो,’ उनले भने ‘हामीले सबैको एकै पटक भिसा एप्लाइ गरेका हौं, भिसा नआएकाको फलोअप गर्दा पेन्डिङ छ भनेर जवाफ आएको छ।’

भिसा आएका ३ जना कहिल्यै जाने भने निश्चित छैन। भिसा आएपछि सबैलाई एकै पटक प्रयास गरिने म्याननेजर दास बताउँछन्। नेपालले बिहीबार केन्यासँग शृंखलाको पहिलो खेलका रूपमा ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल्दैछ। मंगलबार रातभरमा बाँकी ४ को भिसा आएमा सातै जनालाई बुधबार केन्या पठाउन सकिने उनले बताएका छन्।

तर ४ जनाको भिसा नआएको खण्डमा शृंखला अन्योल बन्नेछ। मंगलबार साँझ नैरोबी पुगिसकेका १४ सदस्यीय टोलीमा ११ खेलाडी छन्। ११ खेलाडीको भरमा बिहीबार पहिलो खेल खेलिने सम्भावना नरहेको दास जनाउँछन्। नेपाली खेलाडी पुगेपछि मात्र खेल हुने भएकाले उनले निर्धारित तालिकालाई पुनर्तालिका गरिनसकेको बताएका छन्।

दासले भने, ‘अहिलेसम्म तोकिएको तालिकाअनुसार नै यथावत् छ। पुनः तालिका गर्ने सम्भावना छैन, हाम्रा खेलाडी गएपछि मात्र खेल हुन्छ। केन्या क्रिकेटले भनेअनुसार नै हामी अगाडि बढेका थियौं, यसमा हाम्रो कुनै दोष छैन, त्यही भएर हाम्रो टिम पूरा भएपछि मात्र खेल्नेछ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×