काठमाडौँ - शुक्रबार नेपाली हलमा दुई नयाँ विदेशी फिल्म रिलिज भएका छन्। हलिउड स्टुडियो युनिभर्सलको चर्चित फिल्म ‘जुरासिक पार्क’को छैटौं शृंखला ‘जुरासिक वर्ल्ड डोमिनियन’ र दक्षिण भारतीय फिल्म ‘७७७ चार्ली’ प्रदर्शनमा आएका छन्।
साइन्स फिक्सन र एक्सन फिल्म जुरासिक वर्ल्ड डोमिनियनमा क्रिस प्राटको मुख्य भूमिका रहेको छ। कोलिन ट्रिभोरो निर्देशित फिल्मको यो श्रृंखलामा डाइनोसर मानिससँगै बसोबास गर्छन्। इतिहासकै सबैभन्दा डरलाग्दो प्राणी डाइनोसरसँग मानिसले ग्रहमा बसोबास गर्न साझेदारी गर्छन्, गर्दैनन् भन्ने कुरा यसमा छ।
दक्षिण भारतको कन्नड फिल्म ‘७७७ चार्ली’ पनि शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आएको छ। चार्ली नामक कुकुर र रक्षित सेट्टीको मुख्य भूमिका रहेको फिल्मले कुकुर र मान्छेबीचको मित्रताको कथा बताउछ।
जीवनप्रति निराशावादी रहेको मुख्य पात्रको जीवनमा कुकुरको प्रवेशले ल्याउने परिवर्तन र जीवनप्रतिको आशालाई फिल्मले चित्रण गर्छ। किरणराज के निर्देशित फिल्मले राम्रो समीक्षा प्राप्त गरेको छ।