काठमाडौँ - गत वर्ष निकै आलोचित बनेको ओस्कार अवार्डको एक नियमलाई द एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले पुनर्विचार गर्ने जनाएको छ। समयको बचत गर्न भन्दै गत वर्ष केही विधाको पुरस्कार वितरणको प्रत्यक्ष प्रसारणमा रोक लगाइएको थियो। तर यस वर्ष भने सबै २३ विधाको प्रत्यक्ष प्रसारण गरिने भएको छ।
ओस्कार आयोजक संस्थाका कार्यकारी अधिकृत बिल क्रेमरले विज्ञप्ति जारी गर्दै सबै विधालाई प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेका छन्। गत वर्ष हटाइएका ८ वटा विधालाई पनि समेटेर लाइभ गर्नेतर्फ पुनर्विचार भएको उनले जानकारी दिएका छन्।
सन् २०२२ को ओस्कारमा ओरिजिनल स्कोर, मेकअप एण्ड हेयर स्टाइलिङ, डकुमेन्ट्री सट, फिल्म एडिटिङ, प्रोडक्सन डिजाइन, एनिमेटेड सट, लाइभ एक्सन सट, ध्वनिको विधाको पुरस्कार वितरणको प्रत्यक्ष प्रसारण गरिएको थिएन।
ओस्कारको यस कार्यको निकै आलोचना भएको थियो। भेराइटी म्यागजिनसँग कुरा गर्दै सीईओ बिलले भने, ‘हामी कला, विज्ञान र फिल्म निर्माणको सहयोगी प्रकृतिको उत्सव मनाउन प्रतिबद्ध छौं। यो एकेडेमीको उद्देश्य हो। हामीले फिल्म निर्माणका सबै तत्वलाई मनोरञ्जनात्मक र आकर्षक तरिकाले मनाउने कार्यक्रम गर्न सक्छौं।’
गत जुनमा बिल क्रेमर सर्वसम्मत ढंगले एकेडेमीको सीईओमा नियुक्त भएका थिए। आगामी मार्च १२ मा हलिउड सहर लस एन्जलसमा ओस्कारको ९५ औं संस्करण आयोजना हुँदैछ। जिम्मी किमेलले यसपटकको ओस्कार समारोहको होस्ट गर्नेछन्।