काठमाडौँ - घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमार्फत च्यासल मैदान प्रयोगमा आउने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपबाट नवनिर्मित च्यासल मैदान सञ्चालनमा ल्याउन लागेको हो।
यसअघि एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ आयोजना गर्ने तयारी गरेपनी चेन्जिङ रुम र गोलपोस्ट तयार नभएपछि खेल हुन सकेको थिएन।
यस्तै, एन्फाले दोस्रो अभ्यास मैदानको रूपमा आर्मीको भद्रकालीलाई प्रयोग गर्नेछ। महिला साफ लगातार दोस्रोपटक नेपालमै हुँदैछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन गरेको समूह ‘बी’ मा नेपालसहित श्रीलंका र भुटान रहेका छन्।
यस्तै, समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन्। २१ भदौदेखि १३ असोजसम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा ७ देशको सहभागीता रहनेछ।