बन्दीपुरमा अङ्ग्रेजी नयाँ वर्षमा खाना महोत्सव

दमौली। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा तनहुँका विभिन्न ठाउँमा साङ्गीतिक कार्यक्रम हुने भएको छ। बन्दीपुर र दमौलीमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा खाना महोत्सवका साथै साङ्गीतिक कार्यक्रम हुन लागेको हो। 

पर्यटकीय नगरी बन्दीपुरमा दुई दिने सडक खाना महोत्सव आयोजना गरिएको छ। बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ र उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा यही पुस १६ र १८ गते खाना महोत्सव गर्न लागिएको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए। 

महोत्सवमा बन्दीपुर बजार क्षेत्रको खुला आकाशमुनि स्थानीय खानाका परिकारको कक्ष रहनेछ। महोत्सवले बन्दीपुरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले बताए। “महोत्सवले बन्दीपुर आउने पर्यटक बढाउने अपेक्षा राखिएको छ, दुई दिने महोत्सवमा मात्र कम्तीमा सात हजार पर्यटक भित्र्याउने लक्ष्य छ”, उनले भने। 

कोभिड–१९ को मारमा परेका होटल व्यवसायीलाई सडक खाना महोत्सवले केही राहत पुग्ने आशा गरिएको होटल व्यवसायी वैश गुरुङले बताए। “कोभिड त्रासका कारण बन्दीपुरको पर्यटन व्यवसाय प्रभावित बन्दै आएको छ, अहिले सबैले खोप लगाइसकेका कारण नयाँ वर्षमा बन्दीपुरमा आन्तरिक पर्यटक बढी भित्रिनेमा आशावादी छौँ”, गुरुङले भने। 

नयाँ वर्षकै अवसरमा लायन्स क्लब अफ तनहुँ दमौलीले पुस १६ गते साङ्गीतिक कार्यक्रम गर्न लागेको छ। क्लबकै सक्रियतामा स्थापना गरिएको कपडा बैंकलाई दिगो बनाउन रकम सङ्कलन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष राजु रानाले बताए। नयाँ वर्ष मनाउन पोखरा वा अन्यत्र जानुपर्ने बाध्यताको अन्त्यका लागि दमौलीमै कार्यक्रम गर्न लागिएको उनले बताए। 

क्लबका सदस्यबाट सङ्कलन गरिएको रु चार लाखको लगानीमा गत वर्ष कपडा बैंक स्थापना गरिएको थियो। हाल कपडा बैंकमा कपडा अभाव भएकाले विपन्न समुदायलाई कपडा वितरण गर्न समस्या परेको छ। “कपडा बैंकलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न रकम अभाव भएकाले साङ्गितिक कार्यक्रममार्फत रकम सङ्कलन गर्ने योजना बनाएका हौँ”, उनले भने।

‘हुनेले दान गर्नुहोस्, नहुनेले ढुक्क साथ लैजानुहोस्’ भन्ने मूल मन्त्रसहित स्थापना गरिएको बैंकका लागि जिल्ला समन्वय समितिले ठाउँ उपलब्ध गराएको छ। कपडा बैंकमा प्रयोग गर्न मिल्ने कपडा, सिरक, डसना, तन्ना, जुत्तालगायत राखिएको छ। 

नयाँ वर्षकै अवसरमा व्यास नगरपालिका–१ स्थित नवयुवा क्लवले हाइस्कूलटारमा सांस्कृतिक मेला आयोजना गर्दैछ। पुस १५ गतेदेखि सुरु हुने मेला १७ गतेसम्म सञ्चालन हुनेछ। मेलामा ख्यातिप्राप्त कलाकारको प्रस्तुती, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, रमाइलो मेला, स्थानीय उत्पादनको बिक्री तथा प्रदर्शनी, वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सनम तामाङले जानकारी दिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×