काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा आफूले बल प्रयोग गर्न कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन्।
सोमबार छानबिन आयोगलाई बुझाएको लिखित बयानमा लेखकले जेनजी आन्दोलन शान्तिपूर्ण हुने भन्दै सुरक्षा समितिको बैठकमा बल प्रयोग गर्ने कुनै निर्णय नभएको उल्लेख गरेका छन्। उनका अनुसार आन्दोलनका दिन सुरक्षा निकायलाई हताहति नहोस् भन्ने कुरामा विशेष ध्यान दिन निर्देशन दिइएको थियो।
‘मैले स्पष्ट रूपमा तीन कुरा भनेको थिएँ— पहिलो, कुनै क्याजल्टी नहोस्। दोस्रो, समन्वयका साथ शान्ति–सुरक्षाको उचित व्यवस्था गरियोस्। तेस्रो, यो राजनीतिक दलको कार्यक्रम नभएकाले घुसपैठ हुन सक्छ, त्यसप्रति सतर्क रहनुहोस्,’ लेखकले बयानमा उल्लेख गरेका छन्।
आन्दोलनका क्रममा आन्दोलनकारीको मृत्यु भएपछि आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको उल्लेख गर्दै लेखकले नैतिकताको आधारमा निर्णय लिएको बताएका छन्। ‘राजनीतिमा नैतिकता सबैभन्दा मूल्यवान विषय हो भन्ने मेरो विश्वास छ। त्यसैले मैले राजीनामा दिएको हुँ,’ उनले भनेका छन्।
लेखकका अनुसार गृहमन्त्रीलाई बल प्रयोग गर्न आदेश दिने कुनै कानुनी अधिकार न त छ, न त व्यवहारतः त्यस्तो आदेश दिने अवस्था नै हुन्छ। उनले आफूले न लिखित, न मौखिक रूपमा बल प्रयोगको आदेश दिएको दाबी गरेका छन्।
यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि परामर्श गरिएको र सुरक्षा समितिको बैठकपछि बालुवाटार पुगेर सबै सुरक्षा निकायलाई समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिइएको बयानमा उल्लेख छ। भदौ २३ गते बिहान पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई क्याजल्टी नहोस् भनी फोनमार्फत सचेत गराइएको उनले बताएका छन्।