मकवानपुर - हेटौँडामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा तीन बालकको हेटौँडाको न्युरेनीस्थित कर्रा खोलामा डुबेर मृत्यु भएको छ। अपराह्नको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका तीनजना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।
उनका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौँडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव फेला परेको हो। पौडी खेल्ने क्रममा खोलाले चारजनालाई बगाएकामा एकजना भने पौडी खेलेर बाहिर निस्कन सफल भएको जनाइएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।