काठमाडौँ- मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ। बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोलले हराउँदै मच्छिन्द्रले दुई खेल अगाडि नै उपाधि जितेको हो।
मच्छिन्द्रले १२औं चरणमा थ्रीस्टार र अन्तिम खेलमा विभागीय टोली एपीएफसँग खेल्न बाँकी छ। यी दुवै खेलमा पराजित भए पनि दोस्रो स्थानको मनाङ मस्र्याङ्दीसँग हेड टु हेडमा अघि रहने छ। उपाधिसँगै मच्छिन्द्रले ७५ लाख रुपैयाँ पुरस्कार जितेको छ। लिगको उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख पुरस्कार पाउने छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्रलाई जित दिलाउन नुर्लान नोभ्रुजोभले निर्णायक गोल गरेका थिए। खेलको ५३औं मिनेटमा अजरबैजानका नुर्लानले पोस्ट् नजिकैबाट गोल गरेका थिए। नुर्लानसँगै मच्छिन्द्रका खेलाडीले च्यासलविरुद्धको खेलमा चोट बोकेका मिडफिल्डर मनिष डाँगीलाई सो गोल समर्पण गरेका थिए।
मच्छिन्द्रले दोस्रो पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको हो। यसअघि मच्छिन्द्रले २०७६ सालको लिग जितेको थियो। अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै मच्छिन्द्रले पहिलो पटक उपाधि जितेको थियो।
जितसँगै शीर्ष स्थानको मच्छिन्द्रले ११ खेलमा २९ अंक जोडेको छ। मच्छिन्द्र दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबभन्दा नौ अंकले अघि छ। मनाङको १० खेलमा २० अंक छ। ११ खेलमा १५ अंक जोडेको सातदोबाटो छैटौं स्थानमा छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत नै बुधबार भएको खेलमा त्रिभुवन आर्मी र हिमालयन शेर्पा एवं त्रिभुवन आर्मी र थ्रीस्टार क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। आर्मीले ११ खेलमा १९ अंक जोडेको छ। आर्मी लिगको तेस्रो स्थानमा छ। ११ खेलमा १२ अंक जोडेको हिमालयन शेर्पा आठौं स्थानमा छ। ११ खेलमा १८ अंक जोडेको थ्रीस्टार चौथो स्थानमा छ। ११ खेलमा ११ अंक नै जोडेको नेपाल पुलिस क्लब ११औं स्थानमा छ।