काठमाडौँ - वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको पन्चानब्बे वर्षका उमेरमा आज बिहान निधन भएको छ। पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत थिइन्। उनी अविवाहित हुन्।
वरिष्ठ समाजसेवी श्रेष्ठमा श्वासप्रश्वासको समस्या देखिएको थियो। उनलाई गत असोज २५ गते सो अस्पताल भर्ना गरिएकामा पाँच दिनपछि घर लगिएको थियो। पुनः उनको स्वास्थ्य अवस्था जटिल भएपछि सो अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा पूर्व सांसद श्रेष्ठको आज बिहान निधन भएको उनका धर्मपुत्र टङ्कनाथ पौडेलले जानकारी दिए।
नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद श्रेष्ठ यहाँस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक हुन्। धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति रु एक अर्ब भन्दा माथिको रहेको छ। विसं १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा श्रेष्ठको जन्म भएको थियो।
आज बिहान ९ः३० बजेबाट १०:३० बजेसम्म उनको पार्थिव शरीरलाई कांग्रेसको पार्टी कार्यालय कमलनगरमा राखिने र यसपछि उनी संरक्षक रहेको मैयादेवी कन्या क्याम्पसमा केहीबेर राखेर दिउँसो १ बजे देवघाट लगिने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए। पार्टीले शोक वक्तव्य जारी गर्दै आजका सबै कार्यक्रम स्थगन गरी शोक मनाउने जनाएको छ।